Breaking News
Loading...
Monday, August 27, 2012

Info Post

पाल्पा, भदौ ११, तानसेन न्यू होराईजनकी छात्राले पारिवारिक एवं आर्थिक समस्याका कारण आत्महत्या गरेकी  उनी निकट श्रोतबाट बुझिएको छ। उनले कुनै सुसाईड नोट त लेखेकी छैनन् तर परिवार श्रोत, विद्यालय र उनका साथीहरुले उनी प्राय चिन्तामा रहने गरेको बताएका छन्। शनिबार साथीको जन्मदिनको उपहार दिन उनीसंग पैसा नभएपछि खिन्न थिइन्।
‘सापट पैस लिएर उस्ले गिफ्ट किनेकी थिई, तर गिफ्ट दिन नपाउँदै उस्ले गलत निर्णय गरि।’ प्रिन्सिपल डाँसुराम पन्थीले भने। यद्यपी घटनाबारे प्रहरीले अनुसन्धान भैरहेको जनाएको छ।
कक्षा ८ मा पढ्ने स्याङ्जा सटुकाकी सदिक्षा पाण्डेले शनिबार वेलुकापख काजिपौवास्थित विद्यालय होस्टलको कोठामा साथीहरु, होस्टल कर्मचारी र शिक्षक एवं प्रिन्सिपलको आँखा छलेर पासो लगाएर अत्महत्या गरेकी थिईन्।
उनका बुबाआमा रोजगारीका लागि विदेशमा छन्। प्राय पैसा अभावले उनी चिन्तामा रहने गरेको र फोनमा आमासंग गुनासो गर्ने गरेको परिवार श्रोतले बतायो। सानै उमेरमा आमाबुबाबाट टाढिएर बस्नु पर्दा उनले सामाजिक, मनोवैज्ञानिक एवं आर्थिक समस्याहरु झेल्नु परेको थियो।
उनका मामा केशव बश्यालका अनुसार पछिल्लो समयमा उनीमा दिक्दारी बढेको स्वभाव देखिन्थ्यो। तानसेन भगतीटोलमा मावली हजुरआमासंग बस्दै आएकी १३ बर्षीया पाण्डेले साथीहरुसंग आफू निरास भएको दुःख सुनाउँथिन्। कैयौं पटक उनी रोएको देखेर प्रिन्सिपल पन्थीले सम्झाएका थिए।
‘बुबा आमालाई फोनमा पनि उनको समस्या बुझ्न आग्रह गरेको थिएँ, हामी पनि धेरैपटक सम्झाईबुझाई गर्थ्यौं,’ पन्थीले भने। उनले बच्चाहरुलाई पारिवारिक वातावरण सहज र मित्रवत हुनुपर्ने बताए।    बच्चाहरुको समस्या बुझ्न र उनीहरुको मनोविज्ञान उच्च राख्न परिवार र विद्यालयले भुमिका खेल्नु पर्ने महसुस गरेरनै उनले सदिक्षालाई सम्झाउने गरेका बताए। बेलुकापख आफू सहित १५ जना साथीहरु सुत्ने कोठामा उनले आत्महत्या गरेकी प्रहरीले जनाएको छ।
होस्टलको तेस्रो तलाको कोठामा उनले पासो लगाएको समयमा अर्को कोठामा उनका साथीहरु शनिबारको फुर्सदमा टिभी हेर्दै थिए भने सोहि तलाको अर्को कोठामा प्रिन्सिपल पन्थी काम गर्दै थिए। टिभि हेर्दै गर्दा उठेर हिडेको ५ मिनटमै उनले कोठा भित्रबाट चुकुल लगाएर आत्महत्या गरेकी विद्यालय श्रोतले जनाएको छ।
दैनिक पत्रीकाबाट

0 comments:

Post a Comment