Breaking News
Loading...
Saturday, August 18, 2012

Info Post
हरिवंश आचार्य
हरिवंश आचार्य, यस्तो नाम हो जसको अगाडि वा पछाडि परिचयको फुर्को झुन्ड्याउन आवश्यक छैन । देश-विदेशमा रहेका नेपालीहरुको मन मुटुमा बस्न सफल यी कलाकार यतिखेर जीवनका कठिनतम् क्षण पार गरेर नयाँ जीवनका खुड्किला टेक्दैछन् । यसै सन्दर्भमा सरिता गिरीले अनलाइनखबरका लागि आचार्यसँग कुरा गरेकी छिन् ।
-दाइ, आरामै हुनुहुन्छ ?
आरामै छु ।
-ढिलै भए पनि नयाँ वैवाहिक जीवनका लागि धेरैधेरै बधाई ।
हृदयदेखि धन्यवाद तपाइर्ंलाई ।

-कस्तो चल्दैछ नयाँ दाम्पत्य जीवन ?
राम्रै छ । खुसी छु । मेरी श्रीमती रमिला पनि खुसी छिन् । छोराहरु पनि खुसी छन् ।
-तपाईँको दोसो विवाहलाई धेरैले राम्रो भने है ?
हो, मलाई माया गर्ने अनि मलाई नजिकबाट बुझ्नेहरुले मेरो दुःखलाई आत्मसात गरेर असाध्यै ठूलो सामिप्यता देखाउनु भयो । नरोऊ, जीवन जीउन जान्नुपर्छ, तिम्रो दुःखमा हामी पनि साथमा छौं भन्नुभयो । मेरो दुःखमा साथ दिने अनि दोस्रो जीवनको सुरुआतमा खुसी प्रकट गर्ने सबैप्रति आभार प्रकट गर्छु ।
-कतिपयबाट नकारात्मक कुरा पनि आए हैन ?
हो, तर के गर्ने ? जीवन मेरो हो । दुःखी भएर बाँच्न मलाई असाध्यै गाह्रो भयो । जीउनका लागि मलाई जे ठीक लाग्यो त्यही गरेँ । यदि मेरो यो कदमले कसैप्रति चोट पुर्‍याएको छ वा उहाँहरु मेरो नयाँ वैवाहिक जीवनप्रति सहमत हुनुहुन्न भने त्यो उहाँहरुको आफ्नो सोच हो । उहाँहरुलाई पनि आभार ।
-विवाह आवश्यकता रहेछ कि बाध्यता ?
आवश्यकता । बाध्यतामा जीउन कठिन हुन्छ ।
-दोस्रो विवाहका लागि जीवनका अन्तिम क्षणमा मीरा भाउजूले बाचा गराउनु भएको थियो ?
थिएन । मीरा र मेरो वैवाहिक जीवनको यात्रा २७ वर्षसम्म मात्र हो भन्ने थाहा पाएको भए पहिले नै धेरै सपना पूरा गरिन्थ्यो होला । उनको शरीरमा पेसमेकर राखिँदैमा जीवन यति छोटो होला भनेर कल्पना पनि थिएन ।
-तपाईँको बुझाइमा जीवन के रहेछ ?
भगवानसँग हात जोडेर मागेको पनि होइन जीवन । जीवन पाइसकेपछि कर्म पनि सँगसँगै आउँछ रे । विधाताले जे-जे लेखिदिए त्यहीत्यही भोग्नु पर्ने रे । एक्लै जन्मनु अनि एक्लै मर्नु, नमीठो सत्य रहेछ जीवन ।
-सपना देख्नु हुन्छ ?
देख्छु, धेरै देख्छु ।
-मीरा भाउजू कत्तिको आउनु हुन्छ सपनामा ?
आउँछिन् । प्रायः आइराख्छिन् ।

-रमिला भाउजूलाई भित्र्याएको रात पनि सपनामा मीरा भाउजू आउनुभयो ?
आइन् । त्यो रातको सपना अझै याद छ ।
-के भन्नु भयो उहाँले ?
केही भनिनन् । मीरा र रमिला सँगै बसेका थिए । उनी हाँसिरहेकी थिइन् ।
-सपना देखिसकेपछि के महसुस भयो ?
भावुक भएँ । म जहिले पनि सोच्थेँ मान्छे मरेपछि आत्मा हुन्छ, तारा हुन्छ । भावुक हुँदै गीत पनि लेखेँ, मीरा तिमी तारा हौ भनेर । तर त्यो मेरो भावना मात्र हो । मैले सोचेँ, आत्मा हैन प्रतिबिम्ब हुन्छ । म र मेरा छोराहरु नै मीराका प्रतिबिम्ब हौं ।
-मीरा भाउजूको कुन स्वभाव रमिला भाउजूमा देख्नु हुन्छ ?
स्वभाव मात्र होइन म त रमिलालाई नै मीरा देख्छु ।
-तपाईँकी मिरा तपाईँको नजरमा ?
शब्दमा नअँटाउने थिइन् मिरा । असल स्वभाव, मीठो आवाज, सरल ब्यवहार, कहिल्यै कसैको मन नदुखाउने बानी, बच्चाबच्चीहरुलाई अगाध स्नेह राख्ने उसको मन, ममतामयी आमा, मेरो जीवनकी सारथि अनि अभिभावक ।
-मीरा भाउजूको धेरै याद आउँदा के गर्नु हुन्छ ?
-रेकर्ड भएको उनको आवाज छ, त्यही सुन्छु । अनि सोच्ने गर्छु, उसको आवाजलाई बचाइराख्न सामाजिक विज्ञापनहरुमा किन प्रयोग नगर्ने ? उनको स्मरणलाई जिवन्त राख्न मीरा केयर ट्रष्टको स्थापना गर्दैछु । त्यसका लागि मेरो जन्मथलो काभ्रेको शंखुमा २ रोपनी जग्गा पनि लिइसकेको छु । चाइल्ड केयर सेन्टरसँग मिलेर बच्चाहरुकै विकासका लागि काम गर्ने सोच छ ।
-बुहारी भित्र्याउने सपना थियो होइन उहाँको ?
हो, धेरै तयारी पनि भएको थियो । उनको सपना हाम्रो परम्परा अनुसार बुहारी भित्र्याउने भन्ने थियो । तर सबै अधुरो रह्यो । अब छोरा त्रिलोकले उतै अमेरिकामै बिहे गर्छु भनेको छ, नेपालमा नगर्ने रे ।

-अरुलाई सधैँ हँसाउने मान्छे, आफूचाहिँ कत्तिको रुनु हुन्छ ?
रुन्छु, विगत डेढ वर्षयता धेरैपटक एक्लै बसेर रोएको छु । अनि आफैँलाई सम्हाल्छु, कतै मेरो रुवाईले रमिलाको मन दुख्ने पो हो कि, जो मलाई सर्वस्व ठानेर मेरी जीवनसंगिनी भएकी छिन् ।
-रमिला भाउजूलाई आफ्नी अर्धाङ्गिनी बनाएर भित्र्याएपछि तपाईँहरुबीच पहिलो वार्तालाप के भएको थियो ?
मैले आफ्नो घरको साँचो उनको हातमा राखिदिएँ ।
-उहाँको प्रतिक्रिया ?
गम्भीर हुँदै भनिन्, हजुरले दिएको यो जिम्मेवारी गर्न सक्छु या सक्दिन तर बाचा गर्छु हजुरका हरेक सुख दुःखमा साथ दिन्छु । यो परिवारको खुसी नै मेरो खुसी हो ।
-कुनै उपहार दिनु भयो ?
दिइनँ । घरको साँचोमा पोको पारेर मैले मेरो आत्मा अनि मीराको प्रतिबिम्ब दिएँ । साँचो दिएको त देखियो, आत्मा दिएको नदेखिने । मलाई विश्वास छ मेरो आत्मा र मीराको प्रतिबिम्बलाई सम्हाल्ने छिन् मेरी रमिलाले ।
#अनलाइनखबरबाट

0 comments:

Post a Comment