Breaking News
Loading...
Thursday, August 30, 2012

Info Post

हरिप्रसाद कोइराला, उर्लाबारी ।
‘हामीले तेरी आमालाई मारेर साउदी अरबको नेपाली दुताबासमा बुझाइ सक्यौं । फोन गरेर धेरै किचकिच नगर, कानूनले जे गर्छ गरोस्’, सुन्दै अप्रिय लाग्ने टेलिफोनबाट आएको यस्तो धम्कीले आज पनि उर्लाबारी-२ का अमन पाँचकोटीलाई सताइरहेको छ ।
गत माघमा दलालमार्फत साउदी अरव पुगेकी अमनकी आमा मुना परियार (पाँचकोटी)लाई एक अमीरले ३ महिनाअघि नै मारेर नेपाली दुतावासमा बुझाएको खबर दिएपनि पाँचकोटी परिवारले अझै शव ल्याउन सकेको छैन । छोरा अमनका अनुसार दमक कृष्णमन्दिरकी रविना न्यौपानेमार्फत साउदी अरब पुगेकी ४२ वर्षीया मुना रियादका एक अमीरको वंगालामा घरेलु काम गर्ने गर्थिन् । एकलाख रुपैयाँ खर्चेर साउदी पुगेकी उनको काम सुरुदेखि नै मालिकसँग खटपट भएको थियो । ‘बैसाखको तेस्रो साता आमाको फोन आयो’, अमनले उनकी आमाले भनेका कुरा सुनाए, ‘छोरा, मलाई साहुले कुटेर एकातर्फको पातो भाँचिसक्यो, मलाई एक दुई दिन भित्रमा नै फाँसी दिँदैछन्,जसरी भए पनि मेरो उद्दार गर ।’ आमाले लगातार रुँदै बिलाउना गरेको संस्मरण गर्दै अमन थप्छन्, ‘मैले सुन्न मात्र सकें ।’


 त्यसो त आमालाई छुटाउन आफ्नो क्षमताले भ्याएसम्म अमनले प्रयास नगरेको पनि होइन। फोन आएकै भोलिपल्ट उनले इलाका प्रहरी कार्यालय उर्लाबारीमा आमालाई पठाउने एजेण्ट रविना न्यौपानेविरुद्ध किटानी उजुरी हाले । तर, प्रहरीका अगाडि १५ दिन भित्रमा आमालाई लिएर आउने कागज गरी रविना प्रहरीको नियन्त्रणबाट फुत्किएको अमन बताउँछन् । उनी थप्छन्, ‘प्रहरीसँग पुनः हारगुहार गर्दा प्रहरीले पठाउने बेलामा प्रहरीलाई सोधेर पठाएको हो ? भन्ने प्रश्न गर्‍यो।’
आमाको हत्या, प्रहरीको दुर्ब्यबहार र आफ्नै घरायसी समस्याको भारीले थिचिएका अमनले त्यसपछि सिधै आमाको साहुलाई फोन गरे । फोनमा साहुले ‘तेरी आमालाई मैले ८ सय अमेरिकी डलरमा किनेको हुँ’ भनेपछि अमनको होस हवास नै गुम्यो । सम्हालिन गाह्रो हुँदै उनले भने, ‘त्यसपछि एजेण्ट रविनाको दमकस्थित घरमा पुग्यौं ।’ रविना घर बेचेर स-परिवार बसाई सरेको कुरा छिमेकीहरूले भनेपछि पाँचकोटी परिवार न्याय नपाएर अहिले भौंतारिरहेको छ ।
भएको श्री सम्पत्ति बेचेर बुबाको उपचार गरेपछि पाँचकोटी परिवार हाल उर्लाबारी-२ डेरामा बस्दै आएको छ । दुई छोरा एक छोरी, एक बुहारी, नाति र श्रीमानलाई छोडेर बैदेशिक रोजगारका लागि साउदी अरब हानिएकी मुनाले स्वदेशमा पनि धेरै संघर्ष गरेको छिमेकी इन्दिरा पौडेल बताउँछिन् । इन्दिरा भन्छिन्, ‘श्रीमानको अपहेलना र पैसा कमाउने इच्छाले उनी विदेसिएकी हुन् ।’
विदेश जानुपूर्व उनीसँग नागरिकता मात्र थियो । एक लाख रूपैयाँ तिरेपछि पासपोर्ट बनाउने, भिषा लगाउने लगायतका सबै काम रविनाले गरिदिने भनेपछि मुनाले आफ्नो योजना परिवारका कुनै सदस्यलाई नसुनाएको भाइ गणेशबहादुर दर्जी बताउँछन् । साउँ अक्षरसम्म नचिनेकी मुनासँग कुनै सीप थिएन त्यसैले कहिलेकाँही विदेश जाने कुरा उठ्दा दिदीलाई विदेश नजान सुझाब दिएको गणेशबहादुरको भनाई छ ।
# पुर्बेली टाईम्स

0 comments:

Post a Comment