Breaking News
Loading...
Thursday, August 23, 2012

Info Post

सुरेन्द्र पौडेल, काठमाडौं, भदौ ७ -दस दिनअघि पर्वतबाट काठमाडौं आएकी मनकुमारी सुनार तीन दिनको प्रयासमा सिंहदरबार छिरिन् र धेरैसँग हात फैलाइन्- मेरो छोरोको आयु अब ११ दिनमात्र छ, लौ न बचाइदिनुस्।' १० दिनदेखि उनी यसरी नै भौंतारिइन्- परराष्ट्र, श्रम मन्त्रालय, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड, मानवअधिकार आयोग, प्रधानमन्त्री कार्यालय। धेरैसामु हात फैलाइन्, रोइन् र सहयोगको याचना गरिन् तर कतैबाट झिनो आश्वासन पनि पाएकी छैनन्। प्रधानमन्त्रीलाई भेट्न पाइनन्, निवेदन दिएर फर्किइन्।

कामको सिलसिलामा युएई रहेका उनको एक्लो छोरो दुर्गाबहादुरलाई त्यहाँको अदालतले हत्या अभियोगमा मृत्युदण्ड सुनाएको छ।
युएईको शारजहाँमा सन् २००९ जनवरी १४ का दिन सामान्य भनाभन हुँदा दुर्गाबहादुरले सुनसरी हाँसपोसा- २ का गणेशबहादुर बस्नेतलाई हातपात गरेका थिए। कुटाकुटमा गणेशबहादुरको मृत्यु भयो, उनलाई शारजहाँ प्रहरीले पक्राउ गरी मुद्दा चलायो। त्यसपछि सन् २०१० मा अदालतले दुर्गाबहादुरलाई मृत्युदण्डको सजाय सुनाएको थियो। अदालतले यही भदौ २७ मा उनलाई साउदी अरब लगेर फाँसी दिनसक्छ। मनकुमारीसँग छोरो बचाउने दुई विकल्प छन्- पीडित परिवारले मागेको २० लाख बुझाउने, पैसा नतिरी माफी गर्न मनाउने।

एक्लो छोरो दुर्गाबहादुरलाई मृत्युको मुखबाट फर्काउन उनीसँग अब ११ दिन मात्र बाँकी छ।

'म बूढी, कहाँकहाँ जाउँ, कसैले सुन्दैनन्,' गहिरा आँखा भर्दै ६४ वर्षे वृद्धा मनकुमारी सुस्ताइन्, 'छोरो फर्काउन सकिनँ भने म किन गाउँ (पर्वत) जानू। न श्रीमान हुनुहुन्छ, न सन्तान। कसका लागि बाँच्नू, केही सीप नलागे म आफैं फाल हान्छु।'

पर्वत चित्रे- ४ मा बस्छिन् मनकुमारी। सम्पत्तिको नाममा त्यही एउटा छोरा। छोराले कमाउला, घरबार जोडौला अनि उसको विवाह गरिदिने उनको इच्छा। यही इच्छा पूरा गर्न उनले नौ वर्षअघि २०६० सालमा छोरालाई एक लाख रुपैयाँ ऋण जुटाएर युएई पठाएकी थिइन्।
दुर्गाबहादुर युएई पुगेपछि एकपटक पनि फर्केनन्। तीन कक्षासम्म पढेका उनले न एउटै पत्र पठाए, फोन पनि गरेनन्।

बूढाबूढी मेलापात गरेर दुःखसाथ छोराको बाटो हेर्दै दिन कटाउँथे। पिँढीको डिलमा बसेर छोराको बाटो हेर्ने पतिको साथ पनि उनले गुमाइन्। छोरा युएई गएको चार वर्ष बित्न नपाउँदै पतिको मृत्यु भयो, उनी एक्ली भइन्। 'उहाँ बितेपछि सधैं एक्लै छोराको बाटो हेरेर बिताएकी छु। साँझ परेपछि 'आमा' भन्दै बोलाउँदै छोरा आउँछ कि जस्तो लाग्छ, घरभित्र पस्नै मन लाग्दैन,' सुकसुकाउँदै मनकुमारीले सुनाइन्।
नागरिकदैनिकमा छापिएको  उक्त समाचारको बाँकी अंश पढ्न यहाँ क्लिक गर्नुहोस् 

0 comments:

Post a Comment