केपी ढुङ्गाना, काठमाडौँ, साउन २४- हिजो बेलुकी एक किलो सुन बोकेर वीरगञ्ज जान लागेका भारतीय नागरिक पिताम्बर पासवान कलंकीमा पक्राउ परे। उनले दिएको जानकारीका आधारमा सुनको स्रोत खोज्दै न्युरोडका दुई पसलमा पुगेको प्रहरीले थप तीन करोड रुपियाँ फेला पार्यो।
केन्द्रीय अनुसन्धान ब्युरो र महानगरी प्रहरी वृत्त कालिमाटीले हिजो राति १० बजे भारत मोतिहारीका ३८ वर्षीय पासवानलाई नियन्त्रणमा लिएको थियो।
सुनको स्रोत खोज्न विशाल बजार पुगेको काठमाडौँ परिसरको प्रहरीले आज बालकृष्ण अग्रवालको पसलमा छापा मार्दा १ करोड २९ लाख र पवनकुमार सोनामीको पसलबाट १ करोड ७५ लाख रुपियाँ फेला पारेको हो।
तेस्रो पसलमा छापा मार्दा ६३ किलो चाँदी फेला परेको थियो। चाँदी खरिद गरेको सिद्धार्थ बैँकको स्लिप देखाएपछि ती व्यापारीलाई प्रहरीले नियन्त्रणमुक्त गरे पनि बाँकी व्यापारीबाट बरामद रकम र सुनको स्रोत बारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धान र छापा मार्ने क्रम जारी रहेको प्रहरी स्रोतले बताएको छ।
पछिल्लो समय खासा हुँदै तस्करी गरिएको सुन नेपाल भित्रिँदै आएको छ। सो सुन तस्करीको रहेको प्रहरीको शंका भए पनि पुष्टि भने भएको छैन। प्रहरीले दुवै व्यापारीलाई नियन्त्रणमा मात्र लिएको बताएको छ।
#nagarik
0 comments:
Post a Comment