Breaking News
Loading...
Friday, September 7, 2012

Info Post
ग्लोबल पिस फाउन्डेसन कोरियाको निमन्त्रणामा नेपालको प्रतिनिधित्व गर्दै माइती नेपालकी संस्थापक अनुराधा कोइराला केही दिनअघि दक्षिण  कोरिया पुगेकी थिइन्। भ्रमणका क्रममा उनले त्यहाँ विभिन्न व्यवसायमा संलग्न नेपाली महिलाहरूलाई भेटिन्। त्यही अवसरमा नेपाली  महिलाहरूमाथि हुने विभिन्न प्रकारको हिंसाका सम्बन्धमा देवेन्द्र सम्बाहाम्फेले साप्ताहिकका लागि गरेको कुराकानीः

अहिले नेपाली महिला बेचबिखनको स्थिति कस्तो छ ?
पहिलेको भन्दा कुनै कमी आएको छैन। अझ यो क्रम बढिरहेको छ। यति मात्र फरक छ कि पहिले नेपाली महिलाहरू भारतका विभिन्न  सहरमा पुग्थे अहिले खाडी र अन्य मुलुकहरूमा पुगिरहेका छन्। यसरी अन्य मुलुकमा पनि महिलाहरू पुग्ने क्रम बढिरहेको छ।

स्वदेशको स्थितिचाहिँ कस्तो छ नि ?
नेपाली महिलाहरूमाथि स्वदेशमा हुने यौन शोषणलाई हामीले घरेलु हिंसा भनेर वर्गीकरण गरेका छौं। यसमा १८ वर्षदेखि मुनिका  बालबालिकाहरूलाई आफ्नो इच्छाले होस् वा जबर्जस्ती होस् यौन पेसामा लगाए त्यसलाई पनि हामीले यौन शोषण मानेका छौं। अहिले हाम्रो  देशमा त्यही भैरहेको छ। यो क्रम दसवर्षेको जनयुद्ध कालमा बढी थियो। यसले बच्चाहरूसमेत विस्थापित हुन पुगे। ती बच्चाहरूको  बालअधिकारमात्र होइन न्यूनतम मानवाधिकारसमेत हनन भएको छ, तसर्थ नेपालमै पनि महिलाहरूको स्थिति दयनीय छ।

नेपाली महिलाहरू यौन हिंसामा पर्नुको मुख्य कारण के हो ?
यसको मुख्य कारण नेपाली समाजमा विद्यमान लैंगिक भेदभाव नै हो। यो भेदभावका कारण छोरी मान्छेले शिक्षा पाउँदैनन्, श्रममा पहुँच छैन  र जो शिक्षित छन् उनीहरूलाई आवश्यक रोजगारी छैन यी तमाम कारणले गर्दा नेपाली नारीहरू यौनहिंसा र अन्य प्रकारको शोषणमा पर्ने  गरेका हुन्।

तपाईंहरूको जानकारीमा अहिले कुन मुलुकमा बढी नेपाली महिला यौन हिंसामा परेका छन् ?
नेपाली महिलाहरू भारतलगायत खाडी मुलुकहरूमा बढी यौन शोषणमा परेका छन्। त्यसपछि अहिले सिंगापुर, हङकङ, कोरिया आदि देशमा  पनि शोषणमा छन् ।

कोरियामा रहेका महिलाको स्थिति कस्तो पाउनुभयो ?
विस्तृत रूपमा त बुझ्न पाइनँ, तर पनि उनीहरूले स्थापना गरेको सेल्टरको निरीक्षण गरेको थिएँ। धेरै दुःखले चलाएका रहेछन। उनीहरूलाई  नेपाली दूताबास, एनआरएन आदि संस्थाले सहयोग गर्नु आवश्यक छ।

वैवाहिक भिसामा कोरिया आउन चाहने नेपाली महिलाहरूलाई के भन्न चाहनुहुन्छ ?
कोरियन पुरुषसँग सहज ढंगले विवाह गरेर आएका महिलाहरूका लागि राम्रै होला, तर दलालहरूमार्फत यहाँ आएर दुख पाएका नेपाली  महिलाको स्थिति मैले गत वर्ष पनि राम्रैसँग देखेको थिएँ। अझै पनि यो क्रम रोकिएको छैन। यसका लागि सरकारले नेपालका म्यारिज ब्युरो हरूलाई तुरुन्त बन्द गर्नुपर्छ। अर्को कुरा कतिपय महिला दलालहरूलाई पैसा ख्वाएर पनि आउँदा रहेछन ती महिलाले के सोच्नुपर्छ भने ती  दलालहरूलाई ख्वाउने पैसाले दुःख-सुख जे भए पनि आफ्नै देशमा केही गर्नु राम्रो हुन्छ ।

नेपाली महिलामाथि हुने सबै खाले हिंसाको अन्त्य कसरी सम्भव होला ?
सरकारले चाह्यो भने तुरुन्त अन्त्य हुनसक्छ। यसका लागि उसले कडाभन्दा कडा कानुन बनाउनुपर्छ भने साथै शिक्षालाइ निःशुल्क र अनिवार्य  बनाउनुपर्छ। त्यति मात्र होइन, छोरीलाई शिक्षा नदिने अभिभावकलाई दण्डको व्यवस्था हुनुपर्छ। त्यसपछि रोजगारीको व्यवस्था र श्रमको समान  मूल्य हुनु नितान्त आवश्यक छ।
साप्ताहिक बाट

सि एन एन हिरो अनुराधा सम्बन्धी एक भिडियो हेर्नुहोस्

0 comments:

Post a Comment