Breaking News
Loading...
Sunday, September 30, 2012

Info Post

रामप्रसाद भट्टराई (सचिन), उदयपुर ।
वजारमा छाडा छोडिएका सुंगुर, वंगुर मार्ने व्यक्तिलाई मासु पुरस्कार भन्दा सुन्ने जो कोहीलाई अचम्म लाग्न सक्छ । तर अचम्म मान्नु पर्दैन, विगत एक वर्षदेखि स्थानीय वासीन्दाहरुले सुंगुर मार्ने जो कोहीलाई पुरस्कारवापत मारेको सुंगुरको आधा मासु दिँदै आएका छन् ।
छाडा छोडिएको सुंगुर, वंगुरको मल मुत्रले वजार क्षेत्रमा दुर्गन्ध फैलिन थालेपछि यहाँका व्यापारी र वासिन्दाहरुले सुंगुर नियन्त्रणको गि यस्तो नियम लगाएका हुन् । ‘पटक-पटक आफूले पालेको सुंगुर, वंगुर खोर वाहिर नछाड्न आग्रह गर्दासमेत वेवास्ता गरेपछि सवैको सहमतिबाट यस्तो नियम लगाउन हामी वाध्य भयौं’, घुर्मि वजार व्यावस्थापन तथा सुधार समितिका अध्यक्ष भिमवहादुर मगरले भने ।

 छाडा छाडिएका सुंगुर मार्ने अभियानले धेरै हदसम्म सुधार आएको उनको दावी छ । ‘अहिले वजारमा छाडा पशु चौपाया कम मात्रैमा देखिने गर्छ,’ उनले भने, ‘अभियान चलाएपछि वजार सार्वजनिक स्थल निक्कै सफा देखिन थालेको छ ।’ सुंगुर मारेर ल्याउने व्यक्तिले मारेको सुंगुरको आधा मासु पाउने गरेको छ । भने व्यवस्थापन समितिको भागमा वाँकी आधा मासु पर्ने गरेको छ । समितिले आफनो भागको मासु विक्री गरेर आएको रकम कोषमा जम्मा गर्ने गरेको अध्यक्ष मगरले वताए ।
‘पुरस्कार वापत मासु नै पाउने भएपछि छाडा छोडिएका सुंगुर मार्न स्थानीयहरुको होडवाजी नै चल्नेगरेको छ, तर नियमदेखि डराएर पालकहरुले सुंगुर नै छाड्दैनन्’, उनले भने, ‘सुरु सुरुमा नियमलाई वेवास्ता गर्दै कसैले छाडा पनि छाडे तर एक दुईवटा मार्नासाथै पालकहरु आफैं सतर्क भए ।’
‘आजभोलि वजारमा छाडा सुंगुर देखिए, देख्ने जोकोहीले पहिले सुंगुर मार्छन्, अनि समितिमा आएर खवर गर्छन्,’ अध्यक्ष मगरले भने, ‘नियमप्रति सुंगुर धनिबाट समेत अहिले कुनै गुनासो आएको छैन ।’
कारवाहीबाट जम्मा भएको कोषको रकम वजार सरसफाई र कल्याणकारी काममा खर्च गरिँदै आएको उनले बताए । जम्मा भएको रकमबाट यो वर्ष वजार छेउमा ढल, नाला र केही संरचना निर्माण गर्ने तयारीमा रहेको उनले जानकारी दिए । घुर्मि वजारलाई सफासुग्घर राख्न नेपाल रेडक्रस सोसाइटी, जिल्ला विकास समिति, केयर नेपाल, युनिसेफ, गाविस लगायतका सरकारी तथा गैरसरकारी संस्थाहरुले सहयोग पुर्‍याउँदै आएका छन् ।

 यी संस्थाहरुकै सक्रियतामा लेखानी गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नुअघि नै घुर्मि वजारका २ सय ५० घर परिवारले शौचालय निर्माण गरिसकेका छन् । उनीहरुलाई शौचालय वनाउनको लागि आर्थिक सहयोग पनि गरिएको रेडक्रस उदयपुरका सभापति विनोद वस्नेतले वताए । ‘हामीले सरसफाई र खानेपानीको कार्यक्रम सुरु गरेपछि घुर्मि वजारले रुप फेरेको छ,’ उनले भने, ‘पहिले वजारमा जथाभावी मल मुत्र गर्नेको ताँती लाग्ने गर्थ्यो, तर अहिले सार्वजनिक र निजी शौचालय घरैपिच्छे वनेको छ ।’
पुरै गाविस खुल्ला दिशामुक्त क्षेत्र घोषणापछि वजार क्षेत्रमा मात्र नभएर सिंगो गाविसको प्रत्येक घरमा चर्पी निर्माण भएको लेखानी गाविसका सचिव दिपेन्द्र रेग्मीले बताए । चर्पी निर्माणपछि स्थानीय वासीन्दाले चर्पीको प्रयोग राम्ररी गरिरहेका छन् कि छैनन् भनेर नियमित अनुगमनसमेत भैरहेको उनले जानकारी दिए ।

0 comments:

Post a Comment