कुरा ०४६ सालको हो । कुन महिना, कति गते थियो, बिर्सें । त्यो दिन म हरिवंश -हरिवंश आचार्य) दाइको साथमा माइतीघरस्थित मह-सञ्चारको कार्यालयमा गएको थिएँ । हरि दाइले अर्को साथी पनि ल्याउनुभएको रहेछ । मसँग चिनजान गराउनुभयो, 'ऊ किरण केसी ।'ऊ त्योवेला पनि चिल्लो कारमा आएको थियो । सेनाको कर्णेलको छोरो रै'छ, किन नआओस् त गाडीमा ? ऊ निकै सम्पन्न परिवारको भएकाले मलाई लागेको थियो— निकै घमण्डी होला । मैले घर कहाँ हो भनेर सोधेँ । उसको घर काठमाडौंकै मझटारमा रहेछ ।
हाम्रो भेट एउटा फिल्म अभिनयका क्रममा भएको थियो । फिल्ममा ड्राइभरको भूमिका गर्नुपर्ने भएकाले गाडी पनि भएको भनेर किरणलाई छानिएको रहेछ । झट्ट हेर्दा पहिलाजस्तो लागेको थियो, संगत हुँदै जाँदा ऊ त धेरै फरक रहेछ । उसमा न घमण्ड थियो न त अनावश्यक फूर्तिफार्ती नै । अति सरल र सहज मान्छे । अभिनय मात्र होइन गाउन, नाच्नमा पनि उत्तिकै दक्ष । मैले भेट्नुअघि नै उसले राष्ट्रिय नाच प्रतियोगितामा 'गोल्ड मेडल' हात पारेको रहेछ । उसले धेरै गीत गाउनुका साथै केही एल्बम पनि बजारमा ल्याएको छ । तर, पनि अन्य विधाभन्दा ऊ हास्य कलाकारितामै रमाउन बढी मन पराउँछ ।
बाबु कर्णेल भएकाले छोरालाई पनि सेनाको हाकिम बनाउने चाहना राखेका थिए रे, उसका बाबुले । तर, किरणलाई भने सेना बन्न मन थिएन । बरु, उसले राष्ट्रिय नाचघरमा जागिर खाएको थियो । जहाँ ऊ रमाउन सक्थ्यो ।
०४६ सालमा मैले चिनेको किरण र अहिलेको किरणबीच म कत्ति पनि परिवर्तन देख्दिनँ । त्यतिवेला भेट्दाको उसको उट्पट्याङ बोली अहिले पनि उस्तै छ । ठट्टा गर्ने उसको बानी पनि जस्ताको त्यस्तै छ । ऊसँग नजिकै बस्ने मान्छे उसका कुरा सुनेर नहाँस्ने मैले अहिलेसम्म देखेकै छैन ।
त्यतिवेला काम पर्दा होस् या फुर्सदको समयमा हामी साथीभाइहरू भेला हुने ठाउँ भनेको त्यही माइतीघरको मह-सञ्चारको कार्यालय थियो । कहिलेकाहीँ मौसमले च्यालेन्ज गरेका वेला त्यही कार्यालयमा बसेर सेकुवा र दारुमा मजाले जमिन्थ्यो । किरणको बानी अहिले पनि उस्तै छ । त्यतिवेलाको झँै अचेल पनि पिएपछि झन् रमाइलो गर्छ । तर, उसले पिउन छाडेको आठ वर्ष भयो । तर, पनि ठट्टा गर्ने, हँसाउने मामलामा भने ऊ अहिले पनि उस्तै छ ।
एकदिनको घटना मलाई उस्तै याद छ । त्यो दिन मह-सञ्चारमा पिएपछि रमरम भएर घर जाँदै थियौँ । किरण मोटरसाइकल चलाउँदै थियो । मचाहिँ पछाडि बसेको थिएँ । बबरमहलनजिकै सडकछेउमा एउटा मान्छे मध्यरातमा दिसा बसिरहेको थियो । किरणले झ्याप्प मोटरसाइकल रोक्यो र त्यो अपरिचित मान्छे भएतिर लम्क्यो । म चुप लागेका उसलाई पर्खिरहेँ । किरण गएर त्यो मान्छेको टाउकोमा दुवै हातले बेस्सरी थिचिदियो । त्यो मान्छेको जिउभरि दिसैदिसा लाग्यो । किरणचाहिँ मोटरसाइकलमा मलाई लिएर टाप ठोक्यो ।
त्यस्तै, अर्को एकदिन । हामी पिएर घरतिर लाग्दै थियाँै । सडकछेउमा एउटा मान्छे उभिएर पिसाब फेरिरहेको देखियो । किरण झट्ट अगाडि गयो र मोटरसाइकलको हेडलाइट उसले पिसाब फेरेतिर देखाएर बसिरह्यो । त्यो मान्छे लाजले फस्नर लगाउँदै त्यहाँबाट कुलेलाम ठोक्यो ।
यस्ता, उट्पट्याङ काम त कति गथ्र्यो, कति । सुटिङका क्रममा रातविरात कता पुगिन्थ्यो । कहिले काठमाडौंबाहिर जानुपथ्र्यो । त्यस्तो वेला ऊ र म प्रायः एउटै बेडमा सुत्थ्यौँ । राति ख्ााटमा पल्टिएपछि पनि उसलाई धेरै बोलिरहनुपर्ने । राति अबेरसम्म हँसाएर सुत्नै दिँदैनथ्यो । त्यति मात्रै होइन, कहिले काउकुती लगाइदिने गथ्र्याे । कहिले घिच्रोमा खुट्टा ल्याएर चढाउँथ्यो । किरणले कहिल्यै हँसाएन या हाँसेन भने सोचे हुन्छ कि ऊ बिरामी छ । चिन्तामा पनि ऊ कहिल्यै देखिँदैन । कामको हिसाबले हामी समकालीन । तर, उमेरले मभन्दा ऊ एक वर्ष कान्छो छ । त्यसैले मलाई दाई भन्छ, उसले । तर, मैले उसलाई कहिल्यै पनि भाइ भनेर बोलाएको छैन । 'किरणजी' भनेर सम्बोधन गर्छु । हुने/नहुने, ननभेज सबै खालका कुरा हामीबीच हुन्छन् । हाम्रो कुरा सुनेर अरू साथीहरू जिल्ल पर्छन् ।
एकदिन त मदनदाइ -मदनकृष्ण) ले भन्नुभयो, 'के ताल हो यी मुलाहरूको । गफ भने त्यस्तो गर्छन्, अझै तपाईं-तपाईं भनेर बोलाउँछन् ।'
ब्ााटो हिँड्दा या बसिरहँदा पनि हामी जिस्किरहन्छौँ । कहिले खुट्टामा छिर्के लगाउने । कहिले पछाडिबाट मरुन्जेल ढाडमा धाप मार्ने ।
एकपल्ट सुटिङका लागि काठमाडौंबाहिर गएका थियौँ । बिहान अबेरसम्म किरण सुतिरह्यो । मचाहिँ चाँडै उठेको थिएँ । चिया खाने वेला पनि ऊ उठेन । अनि, म कपमा चिया बोकेर ओछ्यानमा गएँ । बिस्तारै सिरक उचालेँ र तातो चिया उसको गर्धनमा पोख्याइदिएँ । त्यसपछि त 'बाहुनले मार्यो' भन्दै आत्तिएर बेस्सरी चिच्याउन थाल्यो । तै पनि हामीबीच नराम्रो कहिल्यै भएन ।
सम्बन्धको यो २४ वर्षबीचमा पनि हाम्रो सम्बन्ध उत्तिकै छ । एउटाले मरुन्जेल अर्कोको ढाडमा हिर्काउँदा पनि रिसाउने बानी छैन, हाम्रो । न किरण रिसाउँछ न त म ।
बीचमा म अमेरिका जाँदा पनि उसलाई बोलाएँ । अमेरिकामा पनि उसको बानी उस्तै । मन नपर्ने खाने कुरा उसका लागि केही पनि छैन । मन परे पनि नपरे पनि उसले भनिरहने एउटै शब्द हो, 'आगो' । मासु उसलाई बढी मनपर्ने खाना हो । ऊ मासु पकाउन र खान उत्तिनै मन पराउँछ । मैले उसलाई अहिलेसम्म रिसाएको र रोएको देखेको छैन । जस्तो, परिस्थितिमा पनि सम्हालिएर अनुहार उज्यालो पारिरहन सक्ने उसको क्षमता गजबको छ ।
प्रस्तुति : रमन पौडेल/नयाँ पत्रिका

0 comments:
Post a Comment