Breaking News
Loading...
Friday, September 14, 2012

Info Post

काठमाडौँ, भदौ २९ (नागरिक)- सलमान खान, अक्षयकुमार जस्ता एक्सन हिरोहरुका धुमधडाका फिल्महरुले बक्स अफिसका सबै रेकर्डहरु तोडिरहेको बेला अनुराग बासुद्वारा निर्देशित फरक खालको फिल्मको ओपनिङ धमाकेदार भएको छ। हिन्दी फिल्मका व्यापार विश्लेषक तरण आदर्शले पहिलो दिनको व्यापार १० करोड पुग्न सक्ने बताएका छन्। विशेष गरी भारतका मल्टिप्लेक्सहरुमा यसको ओपनिङ राम्रो भएको उनको भनाई छ।

सलमान खानको एक था टाइगरले हालै सबै ओपनिङ रेकर्ड तोड्दै पहिलो दिन ३२.९२ करोडको व्यापार गरेको थियो।
फिल्ममा रणवीर कपुरले दार्जिलिङनिवासी नेपाली मूलका जङ्ग बहादुरका छोरा मर्फी उर्फ बर्फीको भूमिका गरेका छन् भने प्रियङ्का चोपडाले अटिज्मबाट पीडित युवतीको भूमिका गरेकी छिन्। रणवीरलाई मन पराउने अर्की युवतीको भूमिका इलियान डि क्रुजले गरेकी छिन्, जुन भूमिका गर्न यसअघि कट्रिना कैफलाई छानिएको थियो।
फिल्ममा नेपाली रङ्गकर्मी भोलाराज सापकोटाले रणवीरका साथीको भूमिका गरेका छन्। तर उनको भूमिका धेरै नभएकोले उनले  देखाउने ठाउँ पाउन सकेका छैनन्। बिना संवादको भूमिकामा रणवीर जमेका छन्।

फरक खालको फिल्मबाट पनि यति राम्रो रेस्पन्स पाएकोमा बलिउड दङ्ग परेको छ। भारतीय समीक्षकहरुले यसको समीक्षा राम्रो गरेका कारण व्यापार अझै बढ्ने निश्चित देखिएको छ। बलिउड हङ्गामाका तरण आदर्शले फिल्मलाई चार स्टार दिँदै व्यापारिक दृष्टिले यो फिल्म एउटा प्रयोग भएको बताएका छन्। यस्ता फिल्म व्यापारिक हिसाबले भन्दा पनि कला देखाउने हिसाबले बनाइने उनको भनाई छ।

त्यसैगरी टाइम्स अफ इन्डियाका मधुरिता मुखर्जीले फिल्मलाई साढे चार स्टार दिँदै फिल्मले 'बलिउडको वर्तमान बाटो तोड्ने' बताएकी छिन्। डिएनएका ब्लेसी चेटियारले पनि फिल्मको सुरुमा आउने गीत 'पिक्चर सुरु' देखि नै प्रशंसा गर्दै साढे चार स्टार दिएका छन्। रिडिफका राजा सेनले साढे तीन स्टार दिँदै सन् १९७८, १९७२ र वर्तमान समयका कथालाई राम्रोसँग बुनेर प्रस्तुत गरिएको बताएका छन्। इन्डियन एक्सप्रेसका शुभ्र गुप्ताले तीन स्टार दिएका छन् र भनेका छन्- फरक खालको फिल्म बलिउडको मूलधारमा ल्याएर एक कदम अगाडि र दुई कदम पछाडि सार्न खोजिएको छ। बर्फीले निकै साहसी कदम चाले पनि धमिलोपनाको डिग्री र राम्रो कुरामा दिइएको बढी जोडले महान फिल्म बन्नबाट रोकेको छ। अत्यधिक संगीत राखिएकोमा आलोचना गर्दै उनले केही ठाउँमा मौन राखेको भए अझै राम्रो हुने विचार राखेका छन्। 'अपाङ्गतालाई यति गम्भीर र संवेदनशील रुपमा प्रस्तुत गरिएको हिन्दी फिल्म खोज्न गाह्रै हुन्छ'- उनले भनेका छन्।

0 comments:

Post a Comment