Breaking News
Loading...
Tuesday, September 4, 2012

Info Post

गोपाल दाहाल- नाक र कानमा मुन्द्रा लगाउने त पुरानै चलन हो, तर धराने युवती रिनालाई नाइटोमा मुन्द्रा लगाउने रहर लाग्यो। साथीले नाइटो छेडेर मुन्द्रा लगाएको देखेकी उनले पनि त्यसै गरिन्। मान्छेको रहर न हो, धरान १५ का तासी लामाले रहरमै निप्पल छेडेर मुन्द्रा लगाएकी छिन्। युवाहरूले नाक, कान, आँखीभौँ छेडेर मुन्द्रा लगाएका छन्। युवतीहरू नाइटो, जिब्रोलगायत विभिन्न भाग छेडिरहेका छन्। 'पियर्सिङ'को फेसन चलेको छ यहाँ।

धरानसँगै पूर्वका बिर्तामोड, दमक, इटहरी, धनकुटा आदि शहरमा पियर्सिङको फेसन खुब चलेको छ। धरानवरपरका गाउँहरूबाटसमेत पियर्सिङ गरेर फेसनेबल बन्ने धरान आउनेहरू बढिरहेका छन्। सुनसरीको पाँचकन्या गाविसमा इलेक्ट्रिसियन शिवु कार्कीले सोखकै कारण आफ्नो कानको लोतीमा वारपार छेडे। धरानमा याङ ट्याटु हाउस चलाइरहेका विनोद राई (याङ) महिनामा ५० जनासम्म पियर्सिङ गर्न आउने बताउँछन्। उनको अनुभवमा पियर्सिङ गर्न थोरै समय लाग्ने र पैसा पनि कम लाग्ने भएकाले पछिल्लो समयमा युवायुवतीको आकर्षण बढेको छ। उनका अनुसार पियर्सिङ गर्न चाहनेमध्ये अधिकांश युवती नाइटो छेड्न चाहन्छन्। केटाहरू भने कानमा ठूलो प्वाल पारेर प्लग र टनेल लगाउन चाहन्छन्। कोही भने ओठको तल्लो भागमा दुइटा टप लगाउने (स्नेक बाइट) र दुइटा मुन्द्रा लगाउने (स्पाइडर बाइट) मन पराउँछन्।
पियर्सिङको इतिहास निकै लामो छ। इजिप्टका पिरामिडमा राखिएका लासहरूमा पनि ट्याटु र पियर्सिङ पाइएकाले यो पाँच हजार वर्षभन्दा पुरानो चलन हो भन्न सकिन्छ। नेपालमा पनि नेवार समुदायको बिस्केट जात्रामा जिब्रो छेड्ने चलन छ।
विश्वप्रसिद्ध गायकगायिकाले पियर्सिङको फेसनलाई लोकप्रिय बनाएका हुन्। त्यसो त नेपालमै पनि गायक राजेशपायल राईले शरीरका विभिन्न अंग छेडेका थिए।
पियर्सिङ गर्ने व्यावसायिक मानिस कम भएकाले जथाभावी छेडेर जस्तो पायो त्यस्तै रिङ लगाउनेहरूले आफ्नो स्वास्थ्यलाई प्रतिकूल प्रभाव पारिरहेका हुन्छन्। सुरक्षा अपनाएरमात्र पियर्सिङ गराउनुपर्छ।
नागरिकबाट

0 comments:

Post a Comment