लण्डन । सोमबार बिक्रमबहादुर राणा लण्डनस्थित पाराओलिम्कको मैदानमा दौडिंदा उनको हात समातिरहेका थिए अर्का सहयोगीले । त्यो दृष्य देखेर धेरैले अचम्म माने । बिक्रमका आँखाले संसार देख्न छाडेको धेरै बर्ष भइसकेको थियो । तर उनको आँटले उनलाई ओलम्पिकको मैदानमा डोर्याइरहेको थियो । ९ वर्षअघि तत्कालीन सशस्त्र विद्रोहका वेला माओवादीले थापेको एम्बुसमा परेर आफ्ना आँखाको ज्योती गुमाएका थिए ।
नेपाली सेनामा कार्यरत राणा अहिले पूर्ण रुपमा यो संसार देख्न सक्दैनन् तर अनुभूति मात्र गर्न सक्छन् । त्यतिवेलाका चर्चित नेपाली एथ्लेटिक्स खेलाडी राणा अहिले दृष्टिविहीन छन् तर लन्डनमा भइरहेको प्यारा ओलम्पिकमा उनीले दुई सय मिटरको दौड दौडिएर नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । दृष्टिवीहीनहरुका लागि भएको टी ११ मा प्रतिस्पर्धा गरे । उनले दुई सय मिटर दौडमा सोमवार १८ जनासंग प्रतिस्पर्धा गरेर नयाँ राष्ट्रिय कीर्तिमान पनि बनाए । विक्रमले २ सय मिटरको दौड २६ दशमलब ९५ सेकेन्डमा पूरा गरे ।
तर हिट चरणमा सहभागी १८ खेलाडीमध्ये अन्तिममा त रहे तर शीर्ष स्थानमा रहेका ब्राजिलका बार्बोसा डोस भन्दा मात्र ४ सेकेन्डले पछि परे । विक्रमसंगै गाइड रनरका रुपमा उनका प्रशिक्षक लिला श्रेष्ठ दौडिएका थिए । विक्रमले २७ दशमलब ३१ को आफ्नो पछिल्लो राष्ट्रिय कीर्तिमानलाई तोड्दै नयाँ रकर्ड वनाएको प्रशिक्षक श्रेष्ठले वताए ।यसअघि सन् २०१० मा भएको ग्वाङझाउ प्यारा एसियाडमा एक सय मिटरको दौड विक्रमले १२ दशमलब ८५ सेकेन्डमा पूरा गरेका थिए । त्यतिवेला उनले ३२ जना प्रतिस्पर्धि मध्ये ९ औँ स्थानमा रहेर लन्डन पारा ओलम्पिकमा सहभागी हुने मौका पाएका हुन् ।दृष्टिबिहीन भएपनि जीवनदेखि नहारेका बिक्रमले त्यसपछि पनि आफ्नो सक्रियता घटाएनन् । आफ्ना दैनिकका प्रायः आफै गर्ने बिक्रमले दृष्टिबिहीनहरुको क्रिक्रेटका लागि धेरै काम गरिसकेका छन् । आगामी नोभेम्बरमा भारतको बैंगलोरमा हुने दृष्टिबिहीनहरुको बिश्वकप क्रिकेटमा समेत उनले सहभागीता जनाउँदै छन् ।
विक्रमले लन्डन पाराओलम्पीकमा कुनै मेडलको आशा नगरे पनि सहभागीता जनाउनु नै आफ्ना लागि ठूलो जीत भएको बताए । ‘मैले गर्व गर्छु, किन भने म दृष्टिविहीन भएर पनि आफ्नो देश नेपालको झण्डा बोक्न सकेँ’-राणाले भने,’ दृष्टीविहीन भएरपनि सहभागीता जनाउनु नेपालकै लागी गर्वको कुरा हो । विक्रमले सेप्टेम्बर ७ मा १ सय मिटर टि ११ मा पनि प्रतिस्पर्धा गर्नेछन् ।
-अनलाइनखबर

0 comments:
Post a Comment