महिला हिंसाको आवाज उठाउँदै `मैना`
Info Post
पितृसत्तात्मकताले पिल्सिएको हाम्रो नेपाली समाजमा महिला हिंसा र बलत्कार पुर्खौं देखि चलिआएको हो तर अहिले यस मुद्धाले प्राथमिकता पाएको देखिएको छ । बिगतका समयमा महिला हिंसा, बलत्कार, हत्या निकै हुन्थे तर त्यो बेलाका घटनाहरू घट्थे र टर्थे । अहिले सञ्चारमाध्यम बढि जुर्मुराएको देखिन्छ त्यसैले त साधारणतया बाहिर ननिस्किएका यस्ता घटनाहरू बिस्तारै बाहिरिन थालेका छन् र आवाज पनि उठ्न थालेका छन् । महिला हिंसाप्रति राज्य गम्भीर नभएको भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा पीडित परिवार, अधिकारकर्मी, नागरिक समाज, बिभिन्न संघसंस्थाका प्रतिनिधि, युवा जमातको साथमा नेपाली फिल्म उधोगका सेलिब्रेटीहरू पनि पीडकमाथि कारबाहीको माग गर्दै बिगत केहि दिन देखि प्रदर्शनरत छन् । यहि महिला हिंसाको आवाज बोक्दै 'मैना' फिल्म पनि आउँदै छ । आगामी फागुन ४ गते रिलिज हुने क्रममा रहेको मैना फिल्मले बलत्कारको यथार्थ घटनालाई प्रस्तुत गरेको छ । २०६० फागुन ७ मा १५ जना सैनिकले पक्राउ गरि पाँचखालस्थित ब्यारेकभित्रै चरम यातना दिएर बलत्कार पश्चात हत्या गरिएकी काभ्रेको खरेलथोककी १५ बर्षिया मैना सुनुवारको घटनालाई मुख्य बिषय बनाएर मैना फिल्म तयार पारिएको हो । यो फिल्मको निर्देशक केपी पाठकले गरेका हुन् । उनी भन्छन्, 'मेरो फिल्मले पनि महिला हिंसाको बारेमा आवाज उठाएको छ । आशा छ यो फिल्मले आम जनमानसमा एउटा चेतना प्रवाह गर्नेछ ।' फिल्ममा अनिता केसीले मैनाको भुमिका निर्वाह गरेकी छिन् । अनिताको साथमा सो फिल्ममा गोविन्द प्रभात, राधा श्रेष्ठ, सौरभ चौलागाई लगायतले अभिनय गरेका छन् । द्वन्द्वको तत्कालीन परिवेश र पृष्ठभूमिमा आधारित 'मैना'को कथालाई पटकथामा ढाल्न लेखक नयनराज पाण्डेले साथ दिएका छन् । केपी पाठक, जीवनाथ सुवेदी र तेजनारायण सापकोटाले निर्माण गरेको सो चलचित्रमा रामेशको संगीत, कुमार महर्जनको द्वन्द्व र जीवनाथ सुवेदीको छायांकन रहेको छ ।

0 comments:
Post a Comment