हरेक आमाबाबुको चाहना हुन्छ– आफ्ना सन्तान असल बनुन्, सत्मार्गमा अघि बढेर समाजमा प्रतिष्ठित बनुन् । आफूले कयौं पीडा अनि दर्द सहेर छोराछोरीलाई असल मार्गमा हिँडाउन बाबुआमा लागिपरेका हुन्छन् । तर, आफ्नै सन्तानलाई एउटा बाबुले कुकर्म गराउन प्रोत्साहित गर्छ भन्दा झट्ट विश्वास लाग्दैन । तर, इङ्ल्यान्डका एक बाबुले नौ वर्षका छोरालाई अपराधी बन्ने बाटोतर्फ डोहोर्याएका छन् ।
उनले आफ्नै श्रीमती अर्थात् बालककी आमाको हत्या गराउन नौ वर्षे छोराको प्रयोग गरेका हुन् । ती व्यक्तिले तीन हजारवटा फेसबुक म्यासेज पठाएर छोरालाई आमाको हत्या गर्न सिकाएका थिए । अदालतले बालकसँग जोडिएको अपराध भएकाले उक्त घटनामा जोडिएका सबै व्यक्तिको पहिचान भने लुकाएको छ । श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेपछि छुट्टिएर बसेका उनले छोरालाई अपराधी बनाउन सामाजिक सञ्जाल फेसबुकको सहायता लिएका हुन् । उनले छोरालाई चुरोटमा विष मिसाएर आमाको हत्या गर्न लगाएका हुन् ।
सुरुआतमा आमाको बैंक कार्ड र पिन नम्बर चोरेर तीन सय डलर चोर्न सिकाए । बाबुको आइडियाअनुसार चलेका नौ वर्षका बालक पहिलो काममा पास भए । आमा र सौतेनी बाबुसँग ब्रेडफोर्ड सहरमा बस्दै आएका बालकलाई अपराधी बनाउन पठाइएको फेसबुक म्यासेजमा पटकपटक ‘तिम्री आमा स्वार्थी छ । म उनीसँग बसेकोमा घृणा गर्छु’ भनेर बाबुले बालकको मनमा आमाप्रति नकारात्मक विचार भरेका थिए ।
बैंकको रकम चोर्न सफल भएपछि बाबुले छोरालाई दुईवटा चरा एउटै ढंगाले मार्न म्यासेजमार्फत सिकाएका छन् । अदालतले छोरालाई अपराधी बनाउन लागिपर्ने उक्त व्यक्तिलाई १८ महिना जेल सजाए फैसला गरिसकेको छ । फैसलापछि भनिएअनुसार उनले छोरालाई ‘तिमीले चाह्यौ भने दुईवटा चरालाई एउटै ढुंगाले मार्न मात्रै होइन, यो संसारबाट तिम्री आमालाई सिध्याइदिन पनि सक्छौ’ भन्दै उक्साएका थिए ।
न्यायाधीश जनाथन रोजका अनुसार ती व्यक्ति श्रीमतीसँगको सम्बन्धविच्छेदपछि छोरासँग छुट्टिनु पर्दा चरम निराशामा थिए । श्रीमती मरेपछि छोरा आफूसँगै आउने आशामा छोराको मनमा आमाप्रति चरम निराशा जगाउने उद्देश्यले फेसबुकमार्फत म्यासेज पठाउन थालेका थिए । म्यासेज आदानप्रदानको क्रम बढ्दै गएपछि भने उनले आमालाई मार्नै उक्साउन लागेका हुन् ।
गत वर्षको जुन महिनादेखि बालककी आमा नयाँ श्रीमान्सँग बस्न थालेकी थिइन् । एकपटक बालकले चोरी गरेको थाहा पाएपछि आमाले एक चड्कन लगाएकी थिइन् । बालकले बाबुलाई फेसबुक म्यासेजमा आफूले कुटाइ खाएको पनि बताएका छन् । त्यही घटनापछि बाबुले बालकको मनमा आमाप्रति नकारात्मक दृष्टिकोण उब्जाउन जतिसक्दो पहल गरेको अधिवक्ता किट्टी टेलरले बताए ।
पिता छोरालाई अपराधी बनाउन आमालाई थाहा नदिई स्कुलमा भेट्ने गर्थे, कि त फेसबुकबाट म्यासेज पठाउने गर्थे । ‘जब छोरालाई भेट्थे, सकेसम्म आमालाई गालीका शब्दहरू प्रयोग गर्दै उनीबारे नकारात्मक कुराहरु सुनाउँथे’, बयानका क्रममा ती व्यक्तिले बताएका कुरा सुनाउँदै न्यायाधीश रोजले भने । अभियुक्तका तर्फबाट मुद्दा लडेका अधिवक्ता आन हड्सनले भने उक्त व्यक्तिले मायाको अभावमा छोरालाई अपराधी बनाएको बताए ।
(एजेन्सीको सहयोगमा)
0 comments:
Post a Comment