नेपाल सरकारले चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा धमेन्द्र मरवैता ‘पप्पु’ लाई नियुक्त गरेपछि चलचित्रकर्मीहरु आक्रोशित भएका छन् । चलचित्र बिकास बोर्डमा आन्दोलनरत चलचित्रकर्मीहरुले पत्रकार सम्मेलनको आयोजना गर्दै विरोधका नयाँ कार्यक्रम घोषणा गरेका छन् । प्रधानमन्त्रीलाई भेटेको ४ घन्टा बित्न नपाउदै बोर्डमा नयाँ अध्यक्ष आएको भन्दै चलचित्रकर्मीले धोका भएको ठहर गरेका छन् ।चलचित्रकर्मीहरुले तत्काल ४ बुँदे आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रमहरु यसप्रकार छन् :
१. यस आन्दोलन ऐक्यबद्धता जनाएका विभिन्न संघसंगठनहरुको समेत सहभागितामा माघ १४ गतेदेखी नेपालभरी सम्पूर्ण चलचित्र घर, सुटिङ, पोष्ट प्रोडक्शन पूर्णरुपमा ठप्प पार्ने ।
२. मन्त्रीपरिषद्ले स्वइच्छाकारी निर्णय गरी नियुक्त गरेको चलचित्र बिकास बोर्डका अध्यक्ष धमेन्द्र महरवैतालाई बोर्ड प्रबेशमा निषेध गरी सार्वजनिक वहिष्कार गर्ने ।
३. जारी रिले अनशनलाई हालकै स्थानमा यथावत सूचारु राख्ने ।
४. माघ १४ गते बिहान ११ बजे चलचित्र बिकास बोर्ड परिसरमा बृहत्त अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने ।
पत्रकार सम्मेलनमा बोल्दै निर्माता संघका अध्यक्ष राजकुमार राईले चलचित्रकर्मी माथी धोका भएको भन्दै अब सरकारसँग मुडभेडको अवस्था आउन सक्ने चेतावनी दिए ।
यसैबिच चलचित्र बिकास बोर्डमा चलचित्रकर्मीहरुको जारी रिले अनशन शनिबारबाट १० औ दिनमा प्रवेश गरेको छ । शनिबार रिले अनशनमा नायिका नन्दिता केसी पनि उत्रिएकी छिन् । हालसम्म ६० भन्दा बढी चलचित्रकर्मी रिले अनशनमा बसिसकेका छन् ।

0 comments:
Post a Comment