कन्यादान फिल्मबाट नेपाली रजतपटमा प्रवेश गरेका पोखरेली नायक कुशल थापालाई यो एक साता बिताउन निकै कठिन परेको छ । कारण, उनले पहिलो पटक दुई फरक भुमिका निर्वाह गरेको फिल्म 'तिम्रो लागि' यहि शुक्रबार अर्थात् माघ १९ गते रिलिज हुँदैछ ।
कन्यादान सहित सिंदूर, राज, चन्द्रावती, तिम्रो लागि, शान, पल्टन, मैले भुल्नै सकिन र नथिङ इम्पोसिबल गरि ९ वटा फिल्ममा अभिनय गरिसकेका कुशल भन्छन्- 'तिम्रो लागि फिल्ममा मेरो डबल चरित्र छ जसले गर्दा रिलिजको पर्खाईमा छु ।' पहिलो फिल्म कन्यादान रिलिज हुँदा जति एक्साईटेड थिए अहिले पनि उत्तिकै एक्साईटेड भएको कुशलको भनाई छ । 'दर्शकलाई फिल्ममा एक पछि आउने मेरो अर्को चरित्रलाई चिन्न अलि गार्है पर्नेछ', कुशलले थपे ।
कन्यादानमा काम गर्नु पूर्व रजतपटमा छिर्न निकै संघर्ष गरेको बताउने कुशलले अहिले पनि उत्तिकै संघर्ष गरिरहनु परेको बताए । उनले भने, '१० बर्ष देखि संघर्ष गरिरहेको छु र यो संघर्ष अझै निरन्तर जारी रहनेछ ।' क्षमता हुँदाहुँदै पनि बिबिध कारणले फिल्ममा काम गर्न गार्हो रहेको स्थितीलाई नजिकबाट बुझेका कुशल भन्छन्, 'कलाकार धेरै छन् र प्रतिष्पर्धा छ । त्यसैमाथी मलाई चाकरी गर्न आउँदैन अनि फिल्ममा काम गर्न संघर्ष नै गर्नुपर्ने अवस्था छ ।'
फिल्ममा पैसा लगानी गरेर आएको कुराको खण्डन गर्दै कुशलले भने, 'म कसरी यो क्षेत्रमा आएँ त्यो आन्तरिक कारण हो तर मैले पैसा हालेर हिरो बनेको कुरा सरासर झुटो हो ।' उनले काठमाण्डौमा संघर्ष गरेर पनि हिरो हुन नसकेपछि आफ्नै जन्मथलो पोखरा फर्केर केहि समय मोडलिङमा विताएर पछि पुन: काठमाण्डौ आई फिल्ममा काम गरेको बताए । 'निकै मेहनत गरें तर हिरो बन्न सकिन र पोखरा फर्केर मोडलिङमा करियोग्राफी गरें । फिल्मको मोहले छोड्न सकेन र पुन: काठमाण्डौ आएर संघर्ष गरें', विगतलाई फर्केर हेर्दै कुशलले भने, 'रमित ढुंगानाले शोभित बस्नेतसँग भेट गराईदिनु भयो र कन्यादानमा काम पाएँ ।'
एनआर घिमिरेले निर्देशन गरेको फिल्म तिम्रो लागिमा कुशलको साथमा सुमन सिंह, सुमिना घिमिरे, दिव्यश्वर गौतम, गणेश उप्रेती, सुरवीर पण्डित, सुशील पोखरेल लगायतको अभिनय रहेको छ । प्रेमकथामा आधारित यो फिल्मलाई अरूण फिल्म्सको व्यानरमा अरूण खड्काले निर्माण गरेका हुन् । फिल्ममा सन्तोष प्रगाढको संगीत, रोशन श्रेष्ठको द्धन्दनिर्देशन, देबेन्द्र हुरहुरको छायाँकन, बब्बु थापाको नृत्यनिर्देशन तथा बनिश शाहको सम्पादन रहेको छ । यो फिल्म माघ २६ गतेबाट सरेर १९ गतेका आएको हो ।

0 comments:
Post a Comment