Breaking News
Loading...
Saturday, January 12, 2013

Info Post
काठमाडौं, पुस २७ - अभिनेत्री रेखा थापाले बुधबार प्रधानमन्त्रीलाई भेटेको अभिव्यक्ति झुटो रहेको प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जनाएका छन्। नागरिकसँग रेखाले चलचित्र विकास बोर्डको अध्यक्षमा फिल्मकर्मी र त्यो पनि महिलाको नियुक्तिबारे प्रधानमन्त्रीसँग माग राखेको बताएकी थिइन्। पाण्डेका अनुसार रेखाको भनाई गलत हो। 'प्रधानमन्त्रीसँग रेखाको भेट भएकै छैन। उनले हिसिला म्याडमसँग भेट गरेकी हुन्,' पाण्डेले भने। अभिनेत्रीको झुटो अभिव्यक्तिले अचम्भीत बनाएको पाण्डेले बताए। झुटो अभिव्यक्तिबारे प्रश्न गर्दा रेखाले कुरालाई बंग्याएकी छिन्। 'खास म प्रधानमन्त्रीलाई भेट्न गएकी हुँ। हिसिलाजीसँग भेट भयो, महिलासम्वन्धि कुरा भयो,' उनले भनिन्,'मैले नभेटेपनि भेटेँ भनेर केही नराम्रो गरेजस्तो लाग्दैन। बरु मेरो विरोध गर्नेहरुको प्रतिक्रिया थाहा पाएँ।' आफूलाई बोर्ड अध्यक्षको दाबेदार ठान्ने रेखाको झुट अभिव्यक्तिले उनको ओजन कति घटाउला फिल्मकर्मीले मुल्यांकन गर्नेछन्। मिडियालाई गलत जानकारी दिंदा उनको विश्वसनीयता र विगतका उनका विवरणप्रति पनि शंका पैदा गरेको छ। आन्दोलन बढ्दै सरकारले आफ्नो मागप्रति ध्यान नदिएको भन्दै फिल्मकर्मीले आन्दोलन चर्काएका छन्। आन्दोलनको दोस्रो दिन उनीहरुले कालो पट्टी बाधेर विरोध जनाएका छन्। चलचित्र विकास बोर्डमा भएको विरोध कार्यक्रममा नौ वटा संस्थाका फिल्मकर्मीहरु सहभागी थिए। उनीहरुले शुक्रबार हुने आन्दोलनमा सम्पूर्ण फिल्मकर्मीहरुलाई सहभागि हुन अनुरोध गरेका छन्। 'यत्रो विरोध हुँदासम्म सरकारले केही प्रतिक्रिया दिएको छैन। सरकारले हामीहरुको मागलाई सम्बोधन गर्नुपर्ने हो,' अभिनेत्री बसुन्धरा भुषालले भनिन्। आन्दोलनकै कारण कारण शुक्रबार रिलिज हुने भारतीय फिल्म 'मटरु की बिजली का मन्डोला' सेन्सर हुन पाएन। बोर्डको आधा घण्टाको काम पूरा हुन नसक्दा फिल्म सेन्सर नभएको गोपीकृष्ण हलका प्रदीप दाहालले बताए।

0 comments:

Post a Comment